२ कार्तिक २०८१, शुक्रबार

के रवि लामिछाने पक्राउ पर्न लागेका हुन् ?


रवि लामिछाने पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाले फेरि नेपाली राजनीति तातेको छ । अरु कसैले नभएर अहिले भने स्वयं आफू सभापति रहेको पार्टी रास्वपाले नै रविलाई पक्राउ गर्न सरकार लागेको आशंका गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको विपक्षी दलको बैठकमा रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए ।

बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष बैठकले निकालेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वगृहमन्त्री लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् । आज बसेको बैठकमा प्रचण्डले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको तीन दलको बालुवाटारमा बसेको बैठकमा लामिछानेबारे समेत छलफल भएको सुनाएका हुन् ।

जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेविरुद्ध आजै पक्राउ पूर्जी जारी गर्न सक्ने हल्ला चलिरहेतापनि जिल्ला अदालत कास्कीका ७ जना न्यायाधीशमध्ये ६ जना सबैले एकैपटक घर बिदा बसेकोले अदालतमा अनुपस्थित भएपछि आजै पक्राउ पूर्जी जारी हुने सम्भावना क्षीण बनेको छ ।

लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्यापक रुपमा चलेपछि रास्वपाभित्र तरङ्ग उत्पन्न भएको छ तर कास्की जिल्ला अदालत स्रोतले भने अहिलेसम्म पक्राउ पुर्जी जारी भइनसकेको जनाएको छ । आजमात्रै अदालत खुलेको र हालसम्म पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको बताएको हो ।

सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका क्रममा गोरखा मिडिया नेटवर्कका उनका तत्कालीन साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।

यस्तै लामिछानेविरुद्ध प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले छुट्टै अनुसन्धान समेत गरिरहेको छ ।

यसअघि पनि गत असोज ६ गते सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति लामिछाने पनि सम्भावित गिरफ्तारीको खबरले पार्टीभित्र हलचल मच्चिएको थियो ।

पक्राउको आशंकासँगै रास्वपाले आन्तरिक छलफल तीव्र बनाउँदै कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको थियो । पार्टी कार्यालय अगाडि कार्यकर्ता र लामिछानेकाका शुभचिन्तकहरूको बाक्लो उपस्थित रहेको थियो ।

सभापति लामिछानेले सो दिन राती आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका थिए । सो दिन राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका थिए ।

आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिएका थिए । लामिछानेलाई छविसँगै असोजमै पक्राउ गर्ने तयारी गरिएपनि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनका कारण रोकिएको थियो ।

सहकारीको रकम अपचलन मुद्धा मुछिएका लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको छ । अहिले भने लामिछानेलाई अनुसन्धानको दायरामा ल्याउन सरकार तयार रहेको र उनलाई जुनसुकै बेला पक्राउ गर्न सकिने प्रवल सम्भावना रहेको छ ।

आजको बिपक्षी दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवाहार स्वीकार्य नहुने बताए । उनले निष्पक्ष अनुसन्धानमा सहयोग गर्न सभापति लामिछानेले आफू लामिछाने तयार रहेको बताएपनि सरकार चाहीँ कतिखेर समात्दा ठीक हुन्छ भनेर बाजे देखाउन गएको जस्तो लागेको भनेर व्यंग गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !