१५ आश्विन २०८१, मंगलबार

देशभर बाढी-पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र पूरा गरिने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण २२४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए । क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत्का पूर्वाधार मर्मत तथा यथाशीघ्र सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको उनले बताए ।

बाढीपहिराबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् । सरकारले भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा भौतिक क्षतितर्फ खानेपानी ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको सरकारले जनाएको छ ।

बाढी पहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ । त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !