८ आश्विन २०८१, मंगलबार

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछ : सभापति देउवा


शेरबहादुर देउवा फाइल फोटो

वीरगञ्ज, पर्सा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि मुलुक शिक्षा र स्वास्थ्यमा क्रमशः आत्मनिर्भर बन्दै गएको बताएका छन् ।

पर्साको पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभुत अस्पताल भवनको आज उद्घाटन गर्दै उनले सङ्घीयतालाई थप बलियो बनाउँदै नागरिकहितमा काम गर्नुपर्नेमा जोड दिए । “मुलुक सङ्घीय संरचनामा गइसकेपछि सोही ढाँचाअनुसार नै क्रमशः शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुँदै गइरहेको छ ।

सरकारले आधारभूत सेवालाई जनस्तरसम्म पुर्याउनको लागि अधिकतम प्रयास गर्दै आइरहेको छ, जसको फलस्वरूप आज यहाँ पनि अस्पताल स्थापना भएको छ”, पूर्वप्रधानमन्त्री देउवाले भने,“अहिले जनताको सबैभन्दा ठूलो आवश्यकता नै स्वास्थ्य उपचार र शिक्षा हो । यी दुवै कुराको सम्बोधनका लागि सरकारले ध्यान दिइरहेको छ । यो विगतदेखि नै सरकारको नीति हो ।”

सभापति देउवाले आधारभूत अस्पताललाई जनतालाई स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न अनुरोध गरे । उनले अस्पतालले पालिकाका मात्र नभइ अन्य क्षेत्रका बिरामीलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्ने विश्वा व्यक्त गरे । पूर्वप्रधानमन्त्री देउवाले जनहितका काम गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे ।

प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको सरकारले स्थायित्व र संविधान संशोधनका लागि सरकार बनेको बताए । “संविधान संशोधनका विषयमा जनताको घर–घरमा सल्लाह र सुझाव लिएर प्रक्रिया अघि बढाउनेछौँ”, उनले भने, “जनअधिकार रक्षा र संवर्धनका लागि सबैसँग समन्वय र सहमतिका आधारमा उपयुक्त ढङ्गले अगाडि बढ्न आवश्यक छ । यसमा हामी सचेत छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु