२६ पुस २०८१, शुक्रबार

दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छ : उपमहासचिव ज्ञवाली


प्रदिप ज्ञवाली फाइल फोटो

गोदावरी, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन् ।

एमाले केन्द्रीय स्कुल विभागद्वारा आज धनगढीमा आयोजित तीनदिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले दुई दलको सरकार बनेपछि देशमा परिर्वनको थालनी भएको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले जनचाहनाअनुसार काम गर्दै गएकाले जनतामा सरकारप्रति आत्मविश्वास बढ्दै गएको बताए ।

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उनले त्यसका लागि सम्पूर्ण पार्टी शक्ति एकढिक्का भएर सङ्गठन निर्माणमा जुटेको बताए ।

उपमहासचिव ज्ञवालीले एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीका कार्यक्रममा सहभागी भएर क्रियाशील बन्न आग्रह गरे । उनलाई आफूले दशाँै महाधिवेशनमा उपाध्यक्षमा दोहोरिन आग्रह गर्दागर्दै पनि नमानेर अध्यक्षको उम्मेदवार बनेको बताए ।

उनले गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा एमालेको जोड रहेको उल्लेख गरे । विश्वविद्यालयको विधेयक संसद्मा अड्किएको बताउँदै उनले त्यसको निचोड चाँडै निस्किने विश्वास व्यक्त गरे ।

केन्द्रीय स्कुल विभागद्वारा आज धनगढीमा आयोजना गरेको प्रशिक्षण ६४ जना सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !