३१ भाद्र २०८१, सोमबार

समाजवादी कार्यक्रम तर्जुमा गर्ने पहिलो पार्टी एकीकृत समाजवादी : अध्यक्ष नेपाल


माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको कम्युनिष्ट आन्दोलनमा समाजवादी कार्यक्रम तर्जुमा गर्ने पहिलो पार्टी एकीकृत समाजवादी भएको दावी गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकको शुभारम्भ गर्दै उनले नेपालले आगामी मंसिरमा हुने उपनिर्वाचनको तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिँदै निर्वाचनमा पार्टीको परीक्षण हुने भएकाले सबै शक्ति त्यसमा केन्द्रित गर्न निर्देशन दिए ।

उनले आगामी आम निर्वाचनलाई समेत ध्यान दिएर पार्टी सङ्गठन सुदृढीकरणका साथै जनताको सेवालाई केन्द्रमा राखेर उनीहरूको दुःख सुखमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकको राजनीतिमा देखिएका समस्यालाई समाधानका लागि सबै दलबीच समन्वयको खाँचो औँल्याए । यही भदौ ११ गतेसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ गराइएको छ ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारीको टुंगो लगाउने बैठकले सचिवालय सदस्य, पोलिटब्युरो सदस्य र स्थायी समिति सदस्य साथै विभिन्न विभाग समेत निर्माण गर्ने जनाइएको छ ।

केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !