काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतसँगको सम्बन्ध थप बलियो भएको दावी गरेकी छन् । भारत भ्रमण पुरा गरी आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान भएको बताएकी हुन् ।
उनले भारतका विदेशमन्त्री डा.एस जयशंकरबीचको द्विपक्षीय भेटघाटमा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यिय आयोजना, खेलकूद, सीमा पूर्वाधार लगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएको बताइन् ।
उनले भ्रमणले नेपाल र भारतबीच आपसी सदभाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक, घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउने बताइन् ।
उनले द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट दुवै पक्षबीच विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने विषयमा सहमति भएको बताइन् । भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा विहीबार स्वदेश फिर्ता भएकी हुन् ।