काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति हेरफेरको विवरण निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले आयोगमा केन्द्रीय समितिको अध्यावधिक विवरण बुझाएको हो ।
गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा. मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेपछि रास्वपाले आज आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिन भित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने ब्यवस्था भए बमोजिम रास्वपाले एक महिना पुग्नु अगाबै विवरण हेरफेरको जानकारी आयोगलाई विधिवत रुपमा बुझाएको हो ।
रास्वपाले रिक्त महामन्त्रीको पदको जिम्मेवारी कार्यवाहक महामन्त्रीको रुपमा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई दिएको छ भने रिक्त प्रवक्ताको जिम्मेवारी कार्यवाहक प्रवक्ताको रुपमा सहप्रवक्ता एवं सांसद मनिष झालाई दिएको छ ।