२२ भाद्र २०८१, शनिबार

रास्वपाद्वारा पार्टीको विधान परिमार्जनका लागि कार्यदल गठन


रास्वपा केन्द्रीय समितिको बैठक

काठमाडौँ । राष्टिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि कार्यवाहक महामन्त्री बुर्लाकोटीसहित ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

उक्त कार्यदलको सदस्यमा सोविता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, डा नारायण घिमिरे र शङ्कर श्रेष्ठ छन ।

आजको बैठकको निर्णयबारे जानकारी दिँदै कार्यवाहक प्रवक्ता मनिष झाले भदौको दोस्रो सातामा कर्णाली अभियान कार्यक्रम सञ्चालन गर्ने बताए । उक्त अभियान सहमहामन्त्री विपिन आर्चायले संयोजन गर्ने छन् ।

बैठकले पार्टीको पदाधिकारी र नेतृत्वमा रहेका सदस्यलाई रणनीतिकरुपमा सक्षम बनाउन सघन प्रशिक्षणका लागि ‘क्लोज क्याम्प’ आयोजना गर्ने निर्णय गरेको छ ।

सो पार्टीको केन्द्रीय समितिको आजको बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले डा. अरनिको पाँडेलाई पार्टीको केन्द्रीय समितिमा पुनर्बहाली गर्ने निर्णय गरेको हो । यस्तै बैठकले पार्टीको केन्द्रीय विभागमा विभिन्न मितिमा सदस्य अनुमोदन गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !