२ कार्तिक २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले संसदबाट पाए दुई तिहाइ विश्वासको मत


प्रधानमन्त्री ओलीले संसदबाट पाए दुई तिहाइ विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत पाएका हुन् ।

आजको प्रतिनिधिसभाको बैठकमा उपस्थित २६३ सांसदमध्ये विश्वासको मतको पक्षमा १८८ मत परेको छ । विपक्षमा ७४ मत र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।

आजको प्रतिनिधिसभाको बैठकको मतदानमा सहभागी २६३ जना सांसदहरूमध्ये प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा १८८ मत परेकाे र साे संख्या संसदमा तत्काल कायम रहेकाे सदस्य संख्याकाे बहुमत भएकाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेकाे सभामुख देवराज घिमिरेले घाेषणा गरे ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । यद्यपि नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् ।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिएका हुन् । नेपालको संविधानको धारा १०० को उपधारा (४) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !