काठमाडौं । राष्ट्रिय सभाको आज बसेको बैठकले नयाँ बजेट अर्थात् विनियोजन विधेकय, २०८१ सँग आश्रित रहेका अन्य विधेयकहरुलाई पारित गरेको छ । योसँग अब राष्ट्रिय सभाबाट नयाँ आ.ब.को लागि सरकारले ल्याएको बजेट पूर्णरुपले पारित भएको हो ।
राष्ट्रिय सभाको आजको बैठकले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’लाई सर्वसम्मतीले पारित गरेको छ ।
बैठकमा नव नियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ती तीनवटै विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी छुट्टाछुट्टै प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
बैठकमा नेकपा(एमाले)की सांसद भगवती न्यौपानेले आर्थिक विधेयक माथि आफ्नो सुझाव प्रस्तुत गरेकी थिइन् भने उपप्रधान एवं अर्थमन्त्रीको जवाफपछि उक्त सुझावलाई फिर्ता लिएकी थिइन् । बैठकले आर्थिक विधेयकलाई भने सुझाव सहित पारित गरेको हो ।
राष्ट्रिय सभाको आजको बैठकको शुरुमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोरा सुनाउँदै लगानी सहजीकरण विधेयक र विनियोजन विधेयक प्रमाणिकरण गरिएको, जसपाका तर्फबाट अघिल्लो मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुले राजीनामा दिए पछि उनीहरुको जिम्मेवारी समेत स्वयं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्हाल्ने गरी तोकिएको, पूर्व प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेकोले अर्को सरकार नबसेसम्मका लागि सोही सरकारलाई कामचलाउको रुपमा काम गर्ने गरी तोकिएको, नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरिएको तथा आजै नयाँ मन्त्रिपरिषद् गठन सम्बन्धीको व्यहोरा सदनलाई जानकारी गराएका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक आउँदो साउन ४ गते शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।