२२ भाद्र २०८१, शनिबार

राष्ट्रपतिद्वारा संविधानको धारा ७६ को (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले आज शुक्रबार राति नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका हुन् ।

उनले असार ३० गते आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी गर्न दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसंगै कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

राष्ट्रपतिको आह्वान बमोजिम दुई ठूला दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) वा (३) कुन उपधारा अन्तर्गत नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने हुन भन्ने दुविधा अव हटेको छ ।

राष्ट्रपति पौडेलले कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसी लगायतसँग सुझाव लिएका थिए । ती मध्ये वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ७६ (३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिएका थिए ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !