३ मंसिर २०८१, सोमबार

एमाले बाहिरिएसंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा


एमाले बाहिरिएसंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं । नेकपा एमाले बाहिरिएसंगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको हो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका आठ जना मन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई सामूहिक राजीनामा बुझाएका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि एमालेका मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका थिए ।

यसअघि हिजो मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आजसम्मको समयसीमा दिएकोमा प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।

यता प्रधानमन्त्री प्रचण्डले भने प्रधानमन्त्री पदबाट राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो ।

एमाले बाहिरिएसंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

यो पनि पढ्नुहोस्

बालुवाटार पुगेर एमालेका मन्त्रीहरूले दिए सामूहिक राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !