२३ पुस २०८१, मंगलबार

गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त


सुरेन्द्रराज पाण्डे

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । आज बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई नेपालको संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि जेठ १४ गते सोमबार सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेको थियो । अदालतको यो आदेशसँगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका थिए ।

न्यायधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले यसअघि ६० सदस्य प्रदेशसभामा ३० सदस्यको मत पाउने भनि लिएको विश्वासको मत संविधान विपरीत भएको ठहर गरेको थियो ।

सर्वोच्चले अधिकारी पदमुक्त हुने फैसला गर्दै पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो । यसअघि गत सोमबार सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

गत वैशाख २५ गते पाण्डेले दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको दाबी गरिएको थियो । विश्वासको मत लिँदा प्रदेशसभाको बुहमत अवैधानिक रुपमा गणना गरेर विश्वासको मत पाएको रिट निवेदनमा गरिएको थियो ।

उक्त प्रदेशसभामा ६० सदस्य रहेकामा ३० मत मुख्यमन्त्री अधिकारीले पाएका थिए । बहुमत पुग्नका लागि ३१ मत हुनुपर्ने रिट निवेदनमा दाबी गरिएको थियो ।

यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !