८ पुस २०८१, सोमबार

मनसुनमा जनधनको क्षति घटाउने गरी कार्य गर्न गृहमन्त्री लामिछानेद्वारा निर्देशन


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ ले निर्देश गरेअनुसार विपद्बाट हुने जनधनको क्षति घटाउने गरी कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नागरिकले आपत्विपद्मा नै राज्यको सहयोगको अपेक्षा गर्ने भएकाले सोहीअनुसार नीतिगत एवं व्यवस्थापकीय तयारी गरिने पनि बताए । आज सिंहदरबारमा भएका विपद्सम्बन्धी छलफलमा उनले ‘टास्क फोर्स’ बनाएरै सरकारले विपदमा परेकाको उद्धार, राहत तथा पुनःस्थापनका लागि काम गर्ने जानकारी दिए ।

प्राधिकरणको नेतृत्वमा तयार भएको कार्ययोजनामाथि भएको उक्त छलफलमा सरोकारवाला तथा सुरक्षा निकायका प्रमुख, विज्ञहरु, सङ्घ संस्थाका प्रतिनिधिहरु, अभियानकर्मीहरुको सहभागिता थियो । कार्ययोजनामा यसवर्ष हुनसक्ने मनसुन तथा जोखिमको आँकलन, तत्कालै गर्नुपर्ने कार्यहरु, विषयगत क्षेत्रका जिम्मेवारी, विद्यमान साधन स्रोत र संरचनात्मक व्यवस्थालगायत विषय समावेश छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २०८१ वैैशाख ३ गते बसेको २१औँ बैठकले कार्ययोजना तर्जुमा गर्न प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो क्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सिमित श्रोत साधनका बीच उद्धार कार्यमा प्रहरी कर्मचारी अहोरात्र खटिँदै आएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !