८ पुस २०८१, सोमबार

गिरीबन्धु टी-स्टेट प्रकरणबारे ओलीको आरोप : कांग्रेसले कमिसन खाएर ७० बिघा बेच्यो


केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका छन् ।

आज बुधबार नयाँ बानेश्वरमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले गिरीबन्धु टी–स्टेटको एकपटक ५१ बिघा र अर्काेपटक १९ बिघा जग्गा सट्टापट्टा गर्ने नाममा कमिसन खाएर बिक्री गरेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसले एमालेको सन्दर्भमा टिप्पणी गर्दा ख्याल गरोस्, जुन गिरीबन्धु टी–स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपटक ५१ बिघा, अर्को पटक १९ बिघा कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गरेको छ। त्यही टी स्टेट पछि अदालतले नियम र ऐन बनाएरमात्रै यस्ता कामहरू अगाडि बढाउनु भनेपछि अदालतको आदेशबमोजिम हामीले ऐन बनाएका हौं ।’

उनले कांग्रेसले घरिघरि उठाउने प्रयास गरिरहेको यो विषयमा ७० बिघाको कुरा पनि समेट्न सुझाए । ओलीले अदालतको आदेशपछि आफूले नियम मात्रै बनाएको र त्यो कार्यान्वयन नभएको बताए ।

उनले भने, ‘त्यसको कार्यान्वयन भएको छैन। त्यो नियममा विभिन्न शर्तहरू राखिएको छ, ती शर्तहरू पूरा भएर यो ठाउँको जग्गा सट्टापट्टा गर्ने यो ठाउँको बिक्ने भनिएको पनि छैन। अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढीको त्यो जग्गा दिन पाइँदैन भन्नुपर्‍यो नि ! दिन चाहिँ मिल्छ तर यसको अपरिपक्वता देखियो । हामी सम्मानित अदालतको सम्मान गर्छौं। अदालतको फैसला मानेर कहिले जेलजीवन बिताएका छौं, अन्यायपूर्ण फैसला भोगेर कहिले विभिन्न मुद्दा भोगेका छौं, कहिले सरकारबाट हटेका छौं तर, पनि हामीले अदालतको सम्मान गरेका छौं । म आग्रह गर्छु, न्यायमूर्तिको कुर्सीमा बस्दा होस् वा अर्को काम गर्दा एकजना न्यायाधीशले रिटायर्ड भएपछि बालुवाटार त छावा हो त्यहाँ त हात्ती छ भन्नुभयो त्यो हात्तीको दुईवटा छावा बिक्री गरेको बेलामा श्रीमान् कहाँ हुनुहुन्थ्यो ?’

ओलीले एमालेले संसद् चल्न नदिएको आरोपको खण्डन गर्दै कांग्रेसले संसद् अवरोध गरेकोमा आपत्ति समेत जनाए । उनले सहकारी प्रकरणमा आरोप लगाइएका गृहममन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !