काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाणित भए आफू राजनीति छोड्न तयार रहेको स्पष्ट पारेका छन् ।
आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक अवरोध भएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई ऋण लिएको प्रमाणित गर्न चुनौती दिएका हुन् ।
लामिछानेले आफूले ऋण लिएको प्रमाणित भएमा राजनीति छोडिदिने स्पष्ट पार्दै प्रमाणित नभए थापाले राजनीति छाड्ने कि नछाड्ने भन्ने प्रश्न गरेका छन् ।
लामिछानेले आफूलाई बोल्न दिन कांग्रेस डराएको दाबी गरे । उनले मिडियाबाजी र घेराबन्दी भएको बताए । लामिछानेले मिथ्या सूचना प्रकाशित गरेर आफूविरुद्ध घेराबन्दी भएको बताए ।