१२ आश्विन २०८१, शनिबार

जसपाकी सांसद हसिना खानले लिइन् सपथ


हसिना खान

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराए । सभामुख घिमिरले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह (लोगो) र खादा ओडाएर बधाई ज्ञापन गरे ।

सङ्घीय संसदको कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनु अघि सभामुख समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी व्यवस्था छ । सो अवसरमा सचिवालयको तर्फबाट सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद नियमावलीलगायत अन्य कानुन कागजातहरु उपलब्ध गराए ।

सांसद खान जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद सचिवालयलाई जानकारी गराएको थियो ।

स्नातक तहसम्म अध्ययन गरेकी सांसद खान २९ वर्षकी हुनुहुन्छ । राससको जिज्ञासामा सांसद खानले भनिन्, “सांसदलाई कानुन तोकेको जिम्मेवारी पूरा गर्न र खासगरी महिलाको मुद्धा प्रभावकारी रुपमा उठाउने प्रयन्त गर्नेछु ।”

रुपन्देहीको रोहिणी गाउँपालिका–२ पोखरभिन्दीमा जन्मनुभएकी सांसद खान अहिले बाँकेको डुडुवा गाउँपालिका–३ बाट प्रतिनिधित्व गर्छिन् । उनी रुपन्देहीबाट विवाह गरेर बाँके गएकी हुन् । सांसद खानको अहिले बाँके कार्यक्षेत्र रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !