१२ पुस २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता


प्रचण्ड र झलनाथ खनाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका देशको समसामयिक राजनीतिक परिस्थितिमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयलाई लिएर सत्ता गठबन्धनका विषयमा आशंका उब्जिरहेको बेला प्रधानमन्त्री प्रचण्डसँग पूर्वप्रधानमन्त्री खनालले भेटवार्ता गर्नुलाई चासोका साथ हेरिएको छ । उनीहरुबीच वैशाख १५ मा हुन लागेको उपनिर्वाचन, प्रदेश सरकार गठनका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान गठबन्धन धरापमा परेको छ । अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

एक प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएको समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको पक्षमा उभिएपछि सो प्रदेशमा नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

केन्द्रको सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षको गठबन्धनमा सहभागी हुँदै नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !