६ जेष्ठ २०८१, आइतबार

सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न बालुवाटारमा बैठक सुरु


प्रधानमन्त्री प्रचण्ड, देवराज घिमिरे, केपी शर्मा ओली, माधव नेपाल, रवि लामिछाने, गगन थापा र कृष्णप्रसाद सिटौला

काठमाडौँ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला सहितको बैठक सुरु भएको हो ।

प्रतिनिधिसभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्रीसहित, एमाले अध्यक्ष ओली र कांग्रेसका शीर्ष नेतासँग छलफल गरेका हुन् । सदनमा पेश गर्न लागिएको विधेयक र संसदीय छानबिन समितिको विषयमा छलफल जारी रहेको बताइएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसको विरोधका बाबजुद सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछानेले विधेयक पेश गर्ने तयारी गरेपछि कांग्रेस आक्रोशित बनेको थियो । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ ।

सभामुख घिमिरेले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल लिएका हुन् । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु