१२ आश्विन २०८१, शनिबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त


खगराज अधिकारी

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले नियुक्त भएका छन् । गण्डकी प्रदेशका प्रदेशप्रमुख डिल्लीराज भट्टले एमालेका अधिकारीलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो । अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज दावी पेश गरेका थिए ।

नेता अधिकारीलाई एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको छ । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएक थिए ।

कूल २७ सदस्य रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिएका थिए । तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !