९ असार २०८१, आइतबार

बाँसबारी जग्गा प्रकरणमा बयान दिएपछि विनोद चौधरीले भने – मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेलाई बुझाउनुपर्दैन


विनोद चौधरी तस्वीर : केशवराज जोशी

काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएका छन् ।

दुई घण्टा लामो बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेलाई बुझाउनु नपर्ने बताएका छन् ।

चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको उनले बताए । उनले अहिले यो इस्यूमा राजनीतिकरण गरिएको गुनासो गरे ।

उनले एउटा उद्यमीको हैसियतले आफूले जहिले पनि विकासको राजनीति गरेको भन्दै कुनै प्रकारका दलहरूका मतभेदमा सरिक नभएको दाबी समेत गरे । उनले बाँसबारी प्रकरणमा उद्यमीलाई राजनीतिकरण गर्ने र लगानीकर्तालाई राजनीतिकरण गर्ने उद्देश्य राखिएको बताए ।

उनले आफ्नो परिवार विगत १४० वर्षदेखि देशका विभिन्न भागमा परियोजना सञ्चालनमा रहेको बताउँदै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि नभएको बताए ।

यसअघि सीआईबीले विनोदका भाइ अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो भने हिजोमात्र सीआईबीले बिनोदका अर्का भाई व्यवसायी वसन्त चौधरीको बयान लिएको थियो ।

चौधरी समूहको ३६ लाख लगानीमा सरकारसँगको साझेदारीमा स्थापना गरिएको ‘च्याम्पियन फुटवेयर’ मार्फत १० रोपनी जग्गा व्यापारी अरुणले निजीकरण गरेको सीआईबीले अनुसन्धान गरेर निष्कर्ष निकालेको छ ।

सरकारको स्वामित्वमा रहेको यो जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको थियो । बाँसबारीको उक्त जग्गा च्याम्पियन फुटवेयर मार्फत अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा ल्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !