९ असार २०८१, आइतबार

बाँसबारी जग्गा प्रकरणमा सीआईबीले बढायो विनोद चौधरीमाथि अनुसन्धान


विनोद चौधरी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथिको अनुसन्धान अघि बढाएको छ ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको सरकारको नाममा रहेको १० रोपनी जग्गा प्रकरणमा जोडिएका चौधरीमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

चौधरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको सीआईबीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको संसद् सचिवालयले जनाएको छ ।

सभामुखलाई सीआईबीइले लेखेको पत्रमा भनिएको छ, ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन संचालक समिति सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भई रहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

यसअघि सीआईबीले विनोदका भाइ अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो भने आजमात्र सीआईबीले बिनोदका अर्का भाई व्यवसायी वसन्त चौधरीको बयान लिएको छ ।

सीआईबीले बोलाइएका बसन्तलाई बयान कागज गराएर छाडेको हो । उक्त जग्गा निजीकरण गरेको मुद्दामा उनलाई घटना विवरण कागज गराइएको हो ।

सीआईबीले सो प्रकरणमा विनोदलाई पनि बयानका लागि बोलाउने तयारी गरेको हो । बाँसबारीको उक्त जग्गा च्याम्पियन फुटवेयर मार्फत अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा ल्याइएको छ ।

चौधरी समूहको ३६ लाख लगानीमा सरकारसँगको साझेदारीमा स्थापना गरिएको ‘च्याम्पियन फुटवेयर’ मार्फत १० रोपनी जग्गा व्यापारी अरुणले निजीकरण गरेको सीआईबीले अनुसन्धान गरेर निष्कर्ष निकालेको छ । सरकारको स्वामित्वमा रहेको यो जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !