
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
राष्ट्रिय सभाको उम्मेदवार चयन गर्नका लागि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका हुन् । आज दिउँसो बस्ने राष्ट्रियसभाको बैठकले अध्यक्षको निर्वाचनको मिति घोषणाा गर्दैछ ।
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा माओवादी केन्द्रमा हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल आकांक्षी देखिएका छन् ।माओवादीका एक नेताका अनुसार दाहालको सम्भावना बलियो रहेको छ ।
यसअघि नयाँ सत्ता गठबन्धनमा भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले पाउने भएको हो । गठबन्धनका नेताहरूबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने पनि लिखित सहमति भएको थियो ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको लागि यही फागुन २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन गरिने कार्यतालिका घोषणा गर्न लागिएको हो ।