२० बैशाख २०८१, बिहिबार

महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको छ : नेता सिटौला


कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको बताएका छन् ।

नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठककोे समापनसत्रमा उहाँले महासमिति बैठकले पार्टीमा थप उत्साह थपेको बताए । “आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत पार्टीका रूपमा अगाडि बढाउन सबै लाग्नुपर्छ”, उनले भने । उनले देशलाई समस्या परेको बेलामा कांग्रेसले निकास दिनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस कमजोर नभएको बताउँदै कांग्रेसलाई कुनै प्रकारको गठबन्धन आवश्यक नभएको धारणा राखे । पार्टीभित्र एकता आवश्यक रहेको भन्दै उहाँले निर्वाचन पहिलेभन्दा पछि मात्र आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक रुपान्तरण गर्ने जिम्मा कांग्रेसको भएको बताए । उनले सीमित स्रोत, साधनका बाबजुद अर्थतन्त्रको विकासका लागि सरकारले काम गरिरहेको बताए । कांग्रेस केन्द्र, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी बनेकाले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

वडादेखि प्रदेश हुँदै केन्द्रसम्म संस्थागतरूपमा निर्णय गरेर अगाडि बढ्नुपर्नेमा डा महतले जोड दिए । गठबन्धन गरेर जानु नपर्ने परिस्थिति निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसका पूर्वकोषाध्यक्ष सीतादेवी यादवले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए । उनले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !