१२ असार २०८१, बुधबार

आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया


दिनेश कुमार थपलिया फाइल फोटो

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएको प्रतिक्रिया दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “राजनीतिक दलको आन्तरिक लोकतन्त्र व्यवस्थित गर्न र नियमको पालना हुन नसक्दा दलसम्बन्धी उजुरी, गुनासो तथा मुद्दा मामिला आयोग र न्यायिक निकायमा क्रमशः बढ्दै गएको छ ।”

मतदाता सार्वभौम सम्पन्न भएको र निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट मतदाताको मत खरिद वा बिक्री हुन्छ भन्ने कल्पनासम्म गर्न सकिन्न भन्दै प्रमुख आयुक्त थपलियाले मतदाता पैसामा बिक्री हुने वस्तु हो र ? भन्दै प्रतिप्रश्न गरे ।

निर्वाचन प्रणाली आफैँमा सस्तो र महँगो नहुने हुँदा प्रणालीबारे आयोगको कुनै टीकाटिप्पणी नहरने उनको भनाइ थियो । मुलुकलाई समृद्ध र लोकतन्त्रलाई सुदृढ तुल्याउने जिम्मेवारीमा रहेका दलका कार्यकर्ता र उम्मेदवारहरुले निर्वाचनमा मरेका मानिसका नाममा मतदान गर्न प्रेरित गर्छन् भन्नेमा विश्वास गर्न नसकिने बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने आयोगको चाहना रहेको बताउँदै प्रमुख थपलियाले लोकतान्त्रिक व्यवस्थाको निर्वाचनमा जाँदा राजनीतिक दलले आफ्ना एजेण्डा लिएर मतदातामा जानुपर्ने बताए ।

यसअघि बैठकमा सदस्यले पछिल्लो राष्ट्रपति निर्वाचनका अघिल्लो नजिरलाई बेवास्ता गरिएकाले गलत अभ्यास भएको प्रतिक्रिया दिए ।

निर्वाचनको मतपरिणाम विश्लेषणबाट अल्पमतले शासन गर्ने परिस्थिति बनेको बनाउँदै उहाँहरुले लोकतन्त्रमा व्यक्ति होइन, दलबीच प्रतिस्पर्धा हुने निर्वाचन प्रणाली उपयुक्त हुने धारणा व्यक्त गरे । कतिपय सांसदले हालको निर्वाचन प्रणालीमा सुधार गरी कम खर्चिलो र सहज तुल्याउन आवश्यक रहेको सुझाव दिँदै उनीहरुले दलहरुले आयोगसमक्ष प्रस्तुत गर्ने खर्चको परिमाण यथार्थपरक नरहेको टिप्पणी गरे ।

निर्वाचन योगदान, निष्ठा, सिद्धान्त र मन जित्न हुनुपर्नेमा पैसा र प्रभावका आधारमा नतिजा उल्टाउने भएको बताउँदै सदस्यले संविधानको मर्मअनुसार अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चिता गर्नेतर्फ अघि बढ्न आवश्यक रहेको धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !