२१ बैशाख २०८१, शुक्रबार

नेपाल-भारत विद्युत् व्यापार सम्झौताविरुद्ध सर्वोच्चले माग्यो ‘एमिकस क्युरी’


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल–भारत विद्युत् व्यापार सम्झौताविरुद्धको रिटमा एमिकस क्युरी बनाउने निर्णय गरेको छ । सर्वोच्चले भारतसँगको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा परेको रिटमा एमीकस क्युरीको माग गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायद्वारा दायर रिटमा सर्वोच्चका न्यायाधीश नहकुर सुवेदीको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग एक/एकजना एमिकस क्युरीमा पठाउन आदेश गरेको हो ।

भारतसँगको सम्झौता संसदबाट पास गराउनुपर्ने हो कि होइन भन्ने सम्बन्धमा सुनुवाइका लागि अदालतले अदालतको सहयोगी माग गरेको हो । सो रिटमा उक्त सम्झौता संविधानको धारा २७९ आकर्षित हुने होकि होइन र त्यसका लागि संसदको दुई तिहाईबाट पास गर्नुपर्ने हो कि होइन भन्ने सम्बन्धमा सुनुवाइका लागि एमीकस क्युरीको माग गरेको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएको समयमा गत जनवरी ४ मा नेपाल र भारतबीच १० हजार मेगावाटको विद्युत् व्यापार सम्झौता भएको थियो ।

नेपालको संविधान र प्राकृतिक स्रोत बाँडफाँटसम्बन्धी व्यवस्था विपरीत परेको रिटमा अन्तरिम आदेश माग गरिएकोमा आगामी माघ २३ गतेको पेसी इजलासबाटै तोकिएको छ । सर्वोच्चले उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !