२ कार्तिक २०८१, शुक्रबार

सत्ता गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

आज बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार देश विकासको गति रोक्न बनेको आरोप लगाए । उनले गठबन्धन सरकारले देश नबनाउने बताए ।

एमालेले विकासको काम गरिरहको बेला त्यसलाई रोक्न गठबन्धन बनेको उनले बताए । एमालेले पुल, राजमार्ग, अस्पताल, विद्यालय लगायत अनेक पूर्वाधार निर्माणको काम गरिरहेको बेला त्यसलाई रोक्न गठबन्धन सरकार बनेको ओलीले बताए । गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएका भन्दै ओलीले आलोचना गरे ।

उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए । उनले २०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए । एमालेलाई रोक्न खोज्नु सूर्यलाई रोक्न खोज्नु जस्तै भएको अध्यक्ष ओलीले बताए ।

सूर्यमा समेत कहिले काहीँ ग्रहण लाग्ने बताउँदै अध्यक्ष ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताए । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेको ओलीको भनाइ छ।

ग्रहण धेरै समय लाग्न नसक्ने बताउँदै ओलीले एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने प्रष्ट पारे । देशको रक्षा र विकासको लागि नै नेकपा एमाले बनेको उनले बताए । देशको चौतर्फी विकासको लागि एमालेले काम गर्ने उनले प्रष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !