१३ आश्विन २०८१, आइतबार

बैंकमा एक करोड ८० लाखको चेक जम्मा भएको हो, पैसा आएको छैन : सभापति लामिछाने


रवि लामिछानेको स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको स्पष्ट पारेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले कान्तिपुर दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै बैंकको आफ्नो खातामा एक करोड ८० लाखको चेक जम्मा भएको तर पैसा नआएको बताएका हुन् ।

कम्पनीको सेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा जम्मा गर्न चेक बैंकलाई दिएको भए पनि खातामा पैसा नआएकोले यो किर्ते भएको पनि बताए । लामिछानेले एक करोड ८० लाख लिएको भन्दै मिडियाले ‘मिस लिड’ गरेको बताए ।

उनले निरन्तर आफूमाथि प्रहार गर्दै जबरजस्त सहकारी ठग बनाउन खोजिएको बताए । उनले आफूसँग स्लिप भएको भन्दै मिडियाले प्रतिक्रिया लिन रातिराति फोन गर्दा टर्चर हुने पनि बताए ।

उनले सम्पत्ति सुद्धीकरण, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो जस्ता कुनै पनि निकायले आफ्नो बैंक खाता हेरेर उक्त रकम आएको भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताए ।

आफ्नो खातामा एक करोड ८० लाख जम्मा भएको भन्ने समाचार प्रकाशित भएको र आफूमाथि सहकारीको पैसा हिनामिना गरेकाे आरोप लागेपछि उनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । लामिछानेविरुद्ध सहकारी विभागमा समेत उजुरी परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !