२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री कार्यालयको पुनर्संरचना : ६८ दरबन्दी कटौती गर्ने


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने र त्यसका लागि कर्मचारी व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्ने निर्णय गरेको बताइन् ।

“प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीका नाममा गत मङ्गलबार गर्नुभएको सम्बोधनबमोजिम प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गरिएको छ, ६८ वटा दरबन्दी कटौती भएका छन्”, मन्त्री शर्माले भनिन् ।

प्रधानमन्त्री कार्यालयअन्तर्गतका ती दरबन्दीमा रहेका कर्मचारी अब अन्यन्त्र पदस्थापना हुने उनले भनिन् । “प्रधानमन्त्रीको सम्बोधनका क्रममा व्यक्त भएका प्रतिबद्धताको कार्यान्वयन सुरु भएको छ, अब हामी सबै निकायमा त्यो लागू गर्छौँ”, उनले भनिन् ।

बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार छ सय ५० कायम गरेको छ । मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्यसचिवमा महेश भट्टराईलाई नियुक्त गरेकोे मन्त्री शर्माले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !