११ असार २०८१, मंगलबार

प्रधानमन्त्री ‘प्रचण्ड’ र शीर्ष नेताबीच छलफल 


प्रधानमन्त्री ‘प्रचण्ड’ र शीर्ष नेताबीच छलफल  फाइल फोटो
काठमाडौँ । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । सोमबार पुनः बैठक बस्ने सहमति भएको उहाँले जानकारी दिए ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ ।
उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !