काठमाडौँ । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश राजधानी जनकपुरधाममा आयोजना हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् ।
यद्यपि सम्मेलनमा पार्टीका संस्थापनइतर नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् । आज बिहीबार हुने मधेस सम्मेलनमा नेता कोइराला सहभागी नहुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी गराएका छन् ।
आज बिहीबारदेखि हुने प्रदेश सम्मेलनका लागि केन्द्रीय कार्यसमितिका सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिका नेताहरूलाई निमन्त्रणा गरिएको छ । सम्मेलनमा मधेस प्रदेशका ८ जिल्लाबाट ८२५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् ।