जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक हिजो सम्पन्न भएको छ ।
महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको संयुक्त बैठकले पदाधिकारीसहित केन्द्रीय समिति विस्तार, सचिवालय गठन, पार्टीको मुख्य राजनीतिक मार्गसहित राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै सम्पन्न भएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिए ।
बैठकले सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन र महामन्त्री डा. मुकुल ढकालको वैचारिक प्रतिवेदनको प्रस्तावना पारित गरेको छ । यसैगरी बैठकले पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लिमा अधिकारी, सह–महामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं तथा सह–कोषाध्यक्षमा दीपक बोहोरालाई मनोनित गर्ने निर्णय गरेको छ ।
त्यसैगरी १४ जना सांसदलाई केन्द्रीय समिति सदस्य बनाउने र प्रदेश सभापतिलाई केन्द्रीय समितिको पदेन सदस्य स्वीकार गर्दै केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई मनोनीत गर्ने निर्णयसमेत गरिएको पार्टी प्रवक्ता एवं महामन्त्री डा. ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले २१ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । केन्द्रीय सचिवालयमा पदाधिकारी सभापति लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र डा स्वर्णिम वाग्ले, महामन्त्री डा ढकाल, सहमहामन्त्रीत्रय कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्षद्वय वसुमाया तामाङ र दीपक बोहोरा रहेका छन् ।
त्यसबाहेक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारसमेत सचिवालयमा मनोनीत हुनुभएको छ भने बाँकी सदस्य पछि मनोनीत गरिने विज्ञप्तिमा उल्लेख छ ।
राजनीतिक मार्ग ‘बहुलवादी लोकतन्त्र’
तीन दिनसम्म चलेको बैठकले पार्टीलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने ‘बहुलवादी लोकतान्त्रिक’ हुने समेत प्रष्ट पारेको छ । बैठकले पार्टीको मूल राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येय रहेको पनि उल्लेख छ ।
“रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो”, संयुक्त बैठकबाट पारित दस्ताबेजमा भनिएको छ, “यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।”
त्यसैगरी लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम राख्न पार्टी प्रतिबद्ध रहेको पनि सो प्रस्तावनामा उल्लेख छ ।
रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानमा विश्वास गर्नेसमेत प्रस्तावनामा उल्लेख गरिएको छ ।