१२ असार २०८१, बुधबार

सर्वोच्चको आदेशपछि नेपालगञ्जबाट पक्राउ परे रिगल


योगराज ढकाल

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको प्रहरीले बताएको हो ।

सर्वोच्चले आज दिउँसो जन्मकैदको सजाय पाएका रिगल कैद मिनाहा गरी आममाफी दिने सरकारको निर्णय बदर बदर गर्ने परमादेश दिएको थियो । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरेको हो ।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद सजाय मिनाहा गरेका थिए । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । २०७२ असार २८ गते नेपालगञ्जमा रिगलले चेतन मानन्धरको हत्या गरेका थिए ।

नेपालगञ्जका मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । सर्वोच्चले रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

सर्वोच्चले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको हो ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !