१८ असार २०८१, मंगलबार

परराष्ट्रमन्त्री साउदद्वारा इजरायलका विदेशमन्त्री कोहेनसँग टेलिफोन वार्ता


एनपी साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए ।

‘महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीहरुलाई स्तब्ध बनाएको छ। उहाँहरु विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो,’ कुराकानीका क्रममा साउदले भने, ‘अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरु इजरायल जानुभएको थियो। दुःखद घटनाले गर्दा उहाँहरुका घरपरिवारका सदस्यहरु दुःखी र चिन्तित हुनुहुन्छ।’

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरे ।

‘महामहिमज्यू, अब हामीले मृतकहरुको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ । थोरै ढिलाईले पनि घरपरिवारका सदस्यहरुमा झन पीडा थप्ने छ,’ उनले भने, ‘तसर्थ शवहरु नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ।’

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे । उनले आक्रमण पछि सम्पर्कबिहिन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरे ।

‘इजरायलका अस्पतालमा ४ जना नेपालीको उपचार भइरहेको छ । उहाँहरुको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गर्दछु,’ मन्त्री साउदले भने, ‘एक जना नेपाली अझै सम्पर्कबिहिन छन् । उहाँको अवस्था पत्ता लगाउन इजरायल सरकारसँग सम्पूर्ण सहयोग गरिदिन पनि नेपाल सरकार अनुरोध गर्दछ।’

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे ।

‘अहिलेसम्म अन्य नेपाली सुरक्षित अवस्थामा रहेका जानकारी पाएका छौँ । यद्यपि, उहाँहरुमध्ये धेरै जना बंकरमा बसिरहनुभएको जानकारी प्राप्त भएको छ,’ संवादका क्रममा उनले भने, ‘उहाँहरु खाना र पानी जस्ता आधारभूत आवश्यकताका लागि निरन्तर साथीभाइ र परिवारलाई फोन गरिरहनुभएको छ। यस विषयमा पनि उचित सहयोगका लागि हामीले इजरायल सरकारसँग आशा गरेका छौँ ।’

बंकरमा बसेका केही नागरिकहरुले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी गराए । ‘यी मध्ये केही व्यक्तिहरुले अर्को सुरक्षित वासस्थानका लागि आग्रह गर्नुभएको छ,’ साउदले भने, ‘हाम्रो दूतावासले तपाईंका अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहनुभएको छ । उहाँहरुको सुरक्षित क्षेत्रमा स्थान्तरणका लागि तपाईंहरुको सहयोग महत्वपूर्ण छ ।’

मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताए ।

‘हामी घर फर्कन चाहने हाम्रा नागरिकहरुको विवरण संकलन गरिरहेका छौँ। पूर्ण विवरण संकलन भएपछि नेपाल सरकार सहजीकरणका लागि इजरायल सरकार समक्ष आवश्यक सहयोगका लागि आग्रह गर्ने छ,’ उनले भने ।

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्ध रहेको पनि बताए ।

इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरे । उनले इजरायल अहिले कठिन मोडमा रहेको पनि बताए ।

मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !