काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मार्फत् अवैध सुन तस्करी प्रकरणको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नदेखिएको निष्कर्ष निकालेको छ ।
सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन आज बुझाएको छ । ९ केजी सुन तस्करी अभियोगमा पूर्वसभामुख महराका छोरा राहुल महरासहित ३ जनालाई मुद्दा चलाउन प्रहरीले सरकारी वकिल कार्यालयले राय दिएको हो ।
पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सीआईबीले राय सहितको प्रतिवेदन बुझाएको हो ।
भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ । २०७९ पुस १० गते दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ११.५२४ ग्राम सुन भेटिएको थियो ।