६ जेष्ठ २०८१, आइतबार

विरोधीले एमालेलाई विभाजन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छन् : अध्यक्ष ओली


केपी शर्मा ओली

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीले एमालेलाई विभाजन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको बताएका छन् ।

विराटनगरमा आज आयोजित एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्ना विरोधीले पार्टीभित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले त्यस्ता सपनाहरू एमालेभित्र कहिल्यै सफल नहुने दाबी गरे । उनले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताउँदै त्यसका लागि मिसन २०८४ अनुसार जित्न आवश्यक भएको बताए ।

एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको पनि अध्यक्ष ओलीले दाबी गरे । उनले नवनिर्वाचितहरूलाई शुभकामना गर्दै त्यस अनुसारको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै उनले जित्ने, नजित्ने सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे । उनले पार्टीभित्रका मधुकैटबले दिनु दुःख दिएको बताउँदै उनीहरू अहिले काँग्रेसको पाउमा पुगेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !