२१ बैशाख २०८१, शुक्रबार

कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन : माधव नेपाल


माधवकुमार नेपाल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने स्पष्ट पारेका छन् ।

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने भन्दै वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्नेसमेत स्पष्ट पारेका हुन् ।

“वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ । त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ”, उनले भने ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकीकृत समाजवादीका अध्यक्ष नेपाल नेतृत्वको भविष्यमा बन्ने सरकारको कार्यकालपछि कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्ने सर्त राखेका थिए । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले आइतबार नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने प्रस्ताव अघि सारेका थिए ।

वर्तमान सत्ता गठबन्धनमा आलोपालोको सरकारको नेतृत्व गर्ने भएको सहमतिअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने छन् ।

नेपालको नेतृत्वमा सरकार बनेको बेला कांग्रेस सरकारमा जान नहुने र फ्लोरबाट मात्र समर्थन गर्नुपर्ने महामन्त्री थापाले तर्क गरेका थिए । मोर्चापछि कांग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा कांग्रेस एक्लैले चलाउन पाउनुपर्ने उनको भनाइ थियो ।

यसरी काँग्रेस महामन्त्री थापाले राखेको प्रस्ताव वा सर्तको जवाफ दिंदै अध्यक्ष नेपालले कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने स्पष्ट पारेका हुन् । यस्तै उनले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् ।

अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे ।

“अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन् । धरान, सर्लाहीको मलङ्गवा र नेपालगन्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ”, अध्यक्ष नेपालले भने, “यी कदमहरू जुनसुकै नाममा र आवरणमा भए पनि सदियौँदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन् । यसले एकता खल्बल्याउने र प्रतिगमनलाई प्रश्रय दिने काम हुन थालेको छ । त्यसैले हामी सबै नेपाली एक हौँ भन्ने भावनाका साथ मिलेर बस्न सबैलाई अपिल गर्दछु ।”

पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा जनकपुरधाम पुगेका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्न समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताए ।

राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उनले समाजवादका मूल्य, मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिबद्धताप्रति सबै इमान्दार बन्नुपर्ने धारणा राखे ।

“राजनीतिक परिवर्तन त भयो । तर देशको आवश्यकता र जनचाहना सम्बोधन गर्न आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका समाजवादी नीति, कार्यक्रम दिनसकिएको छैन । पर्याप्त रोजगारी र सुशासनमार्फत समृद्धि हासिल गर्ने कुरामा हामी चुकिरहेका छौँ । सबैका लागि राज्य भन्ने मान्यतालाई स्थापित गर्न धेरै काम गर्नुपर्ने छ । सही राजनीतिक दृष्टिकोण र विचारले मात्रै समकालीन समस्याबाट निकास दिनसक्छ । त्यसैले म सबै राजनीतिक दल र परिवर्तन पक्षधरहरूलाई वर्तमान निराशालाई चिर्ने गरी काम गर्न आग्रह गर्दछु ।”

एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान–२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने छ । ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको अभियानका क्रममा पूर्वमेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने अभिप्राय रहेको अध्यक्ष नेपालको भनाइ छ ।

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशका अध्यक्ष प्रवीण साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललगायत नेताको समेत उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

माधव नेपाल नेतृत्वको सरकारपछि कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्छ : महामन्त्री थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !