२० असार २०८१, बिहिबार

‘प्रधानमन्त्रीको भ्रमणबाट चीनसँगको सम्बन्धमा नयाँ आयाम थपिएको छ’


अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोलेको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित नियमित पत्रकार भेटघाटमा पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री दाहालको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ, सहकार्य र सम्बन्धमा नयाँ ढोका खुलेकाले पूर्णरुपमा सफल भएको टिप्पणी गरे ।

प्रवक्ता सापकोटाले भने, “प्रधानमन्त्री दाहालको चीन भ्रमणले दुई देशका सम्बन्धमा नयाँ आयाम थपिएको छ । कोभिड–१९ सङ्क्रमणपछि हुन नसकेको उच्चस्तरीय भ्रमणको शृङ्खला जोडेको मात्र होइन, उठिरहेका विभिन्न प्रश्न, संशय निवारण भएको छ ।”

प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भएका सहमति र द्विपक्षीय सम्बन्ध विस्तारका साथै एकअर्काबीचको संवेदनशीलता र बाध्यता बुझ्ने पाटोबाटसमेत महत्वपूर्ण रहेको उनको भनाइ छ । नेपालको राष्ट्रिय योजना आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीचको सहकार्यसम्बन्धी समझदारी आफैँमा महत्वपूर्ण रहेको प्रवक्ता सापकोटाले टिप्पणी गरे ।

भ्रमणका अवसरमा भएका सहमति र समझदारीले दुई देशबीचको आर्थिक विकासको आधार तयार भएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले दुई आयोगबीच भएका सहमति विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

यस्तै नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको चिलिमे–केरुङ दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणमा सहकार्य गर्ने सहमति पनि उत्तिकै महत्वपूर्ण रहेको प्रवक्ता सापकोटाले उल्लेख गरे ।

कृषि, पशुपालन तथा औद्योगिक विकास तथा डिजिटल अर्थतन्त्रलगायतका विषयमा प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा उल्लेखनीय सहमति भएको भन्दै उनले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीस्तरमा भएका छलफल आफैँमा महत्वपूर्ण रहेको बताए ।

नेपाल र चीनबीच रहँदै आएको राजनीतिक, सांस्कृतिक एवम् जनस्तरको मैत्री सम्बन्धलाई प्रधानमन्त्री प्रचण्डको भ्रमणले नयाँ मार्ग प्रशस्त गरेको स्पष्ट पार्दै प्रवक्ता सापकोटाले चीनले विज्ञान तथा प्रविधिका क्षेत्रमा गरेको विकास नेपालका लागिसमेत महत्वपूर्ण रहेको र सहयोग गर्ने प्रतिबद्धता जनाएको तथा प्रविधि हस्तान्तरण गर्ने सहमति भएको उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री प्रचण्डले दर्जन बढी बैठक र छलफलमा सहभागी भई नेपालको शान्ति प्रक्रिया मौलिक र उदाहरणीय रहेकाबारे विश्वसमुदायलाई जानकारी गराउनुभएको बताए ।

विश्व समुदायलाई ध्यानाकर्षण गराउने गरी नेपालको मौलिक प्रकारको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि प्रधानमन्त्री प्रचण्डले सहयोगको आह्वान गर्नु आफैँमा उल्लेखनीय रहेको प्रवक्ता सापकोटाको कथन छ ।

शान्ति प्रक्रिया सुरु भएपछि विभिन्न चार वटा आवधिक निर्वाचन सम्पन्न हुनु सफलताको पाटोबाट शक्तिशाली उदाहरण भएको बताउँदै उनले विश्व शान्तिमा नेपालले खेलेको भूमिकाको सबैले प्रशंसा गरेको उल्लेख गरे ।

जलवायु परिवर्तनका कारण संसारभर देखापरेको असरलाई न्यून गर्न प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घमार्फत शक्ति राष्ट्रहरुको ध्यानाकर्षण गराएको तथा अल्पविकसित देशको अध्यक्षको हैसियतले महत्वपूर्ण छलफलमा सहभागी भई विश्व समुदायलाई आफ्ना प्रतिबद्धता पूरा गर्न अनुरोध गर्नुभएको बताए ।

राष्ट्रिय सवालमा बृहत् छलफल गरेर राष्ट्रिय एकरुपता कायम गर्नुपर्नेमा जोड दिँदै प्रवक्ता सापकोटाले राजनीतिक दल इमान्दार भएर अगाडि बढ्नसके सबै समस्याको समाधान हुने उल्लेख गरे ।

मुलुकभित्र देखापरेका तमाम समस्या समाधानका लागि सरकार र नेतृत्वको हिसाबले प्रधानमन्त्री प्रचण्डले विशेष पहल गरिरहनुभएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले सामाजिक न्यायसहितको सुशासन र समृद्धि हासिल गर्नु नै पहिलो कार्यभार भएको बताए ।

देशभित्रै युवालाई रोजगारी प्रदान गर्न सरकारले पहल गरिरहेको तथा आर्थिक विकास, जनताको जीवनस्तर उठाउने, गरिबी हटाउन उल्लेखनीय पहल गरिरहेको उनको भनाइ छ । राष्ट्रियरुपमा साझा सवालमा गहन छलफल गरी एकरुपता कायम गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै प्रवक्ता सापकोटाले भू–राजनीतिक जटिलता जटिल र पेचिलो रहेसँगै समृद्धिको सम्भावना पनि त्यतिकै रहेको धारणा राखे ।

उच्च शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका युवालाई स्वदेश फर्काउन सरकारले काम गरिहेको बताउँदै उपाध्यक्ष सापकोटाले सामाजिक न्यासहितको सुशासन र भ्रष्टाचार नियन्त्रण सरकाले उल्लेखनीय सफलता हासिल गरेको धारणा राखे ।

माओवादी केन्द्र र सरकार जनताको आवाज सुन्न र मन जित्न तत्पर रहेको विभिन्न राजनीतिक पार्टी परित्याग गरी माओवादी केन्द्रमा बढिरहेको प्रवेशको लहर नै चलेको उनले भनाइ छ । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा सरकार अगाडि बढेको र जनताको जीवनमा परिवर्तन गर्ने गरी काम गरिरहेका उनको भनाइ छ ।

शिक्षक, चिकित्सकका असन्तुष्टिलाई समेत सरकारले सम्बोधन गरेको स्मरण गर्दै प्रवक्ता सापकोटाले जनतासँग जोड्ने अभियानमा रुपान्तरण, आलोचना र समर्थनको प्रश्न गम्भीररुपमा उठेको बताए ।

सो अवसरमा माओवादी केन्द्रका कोषाध्यक्ष तथा पार्टी कार्यालयका प्रमुख सचिव श्रीराम ढकाल र पार्टी प्रचार विभाग सचिव एवं प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले पार्टीको तीनमहिने रुपान्तरण, अध्यक्ष प्रचण्डको संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिता र चीन भ्रमणलगायतका समसामयिक विषयबारे उठ्न सक्ने प्रश्नका बारेमा जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !