५ जेष्ठ २०८१, शनिबार

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा


सुवासचन्द्र नेम्वाङ

काठमाडौँ । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा ल्याई पुर्याइएको छ ।

श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट च्यासल ल्याइएको हो । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको उनको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालयमा पुर्याइएको हो ।

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरे ।

सरकारले संविधानसभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेअनुसार नेपाली सेनाको टोलीले नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालय च्यासल पुर्‍याएको हो । मन्त्रिपरिषद्को निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो । सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !