काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे । नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक बृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताए ।
एमाले उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।