२६ पुस २०८१, शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत


उद्धव थापा

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत पाएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठकमा उनले विश्वासको मत पाएका हुन् ।

विश्वासको मत लिने मुख्यमन्त्री थापाको प्रस्ताव प्रदेशसभाले स्वीकृत गरेको हो । ९३ सदस्यीय कोशी प्रदेशसभामा आजको बैठकमा ७७ जना प्रदेशसभा सदस्य उपस्थित रहेका थिए ।

कोशीका प्रदेशसभामा मुख्यमन्त्री थापाले राखेको विश्वासको मतको पक्षमा ४७ मत परेको छ भने विपक्षमा ३० मत परेको छ । प्रदेशसभाको बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

कोसीका मुख्यमन्त्री थापाले प्रदेशसभाको बैठकको अध्यक्षता गरेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद मन्सुरीसमेतको मत जोडेर विश्वासको मत पाएका हुन् । मत सच्याउने अवधिको घण्टी बजिसकेपछि इसराइलले सभाध्यक्ष मण्डलका अर्की सदस्य गीता तिम्सिनालाई सभाको अध्यक्षता गर्न आग्रह गरेका थिए ।

अध्यक्ष मण्डलका अर्का सदस्य तिम्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मन्सुरी आफू मतदानका लागि गएर मुख्यमन्त्री थापालाई मत दिए । आफैंले दिएको मत समेत जोडेर उनले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएकी थिइन् । कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !