१२ असार २०८१, बुधबार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मागे विश्वासको मत


उद्धव थापा

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत मागेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गरेका छन् । उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएकी थिइन् ।

उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरेकी थिइन् ।

कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकोले वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका थिए। सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेखेकी हुन् ।

प्रदेशसभाको आजको बैठकमा नेकपा (एमाले) का तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने जानकारी गराइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !