३ असार २०८१, आइतबार

सामान्य प्रशासनमन्त्री बन्ने जनमतकी अनिता अनितादेवी साहको सपथ आज


अनितादेवी साह

काठमाडौँ । जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने भएकी छन् ।

नेकपा (माओवादी केन्द्र) को हिजो आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मोदीलाई फिर्ता बोलाएपछि साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको हो ।

सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । उनले भने, “हामीले उहाँको नाम धेरै अघिदेखि पठाएका थियौँ । भोलि बिहान १० बजे राष्ट्रपति भवनमा सपथका लागि खबर आएको छ ।”

जनमत पार्टीको सचिवसमेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । मन्त्रालयको जिम्मेवारी पाउने खबरले आफू उत्साहित र जिम्मेवार महसुस गराएको साहले बताइन् ।

साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् । उनी किसान आन्दोलनको अग्रमोर्चामा सहभागी भएका थिए । धनुषा जिल्लाको पार्टी इनचार्जको जिम्मेबारीसमेत निर्वाह गरिसकेकी साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो ।

यसअघि उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिएकी थिइन् । उनी जनकपुरमा भएको पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष समेत बनिन् ।

विसं २०३९ मा औरही गाउँपालिकामा जन्मिएकी उनले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गरेकी छन् । ‘वोरेक नेपाल’ नामक संस्थासँग आबद्ध भएर काम गरेकी उनी एक दशक महिला अधिकार र समाजसेवा सम्बन्धित काममा आबद्ध थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !