१० पुस २०८१, बुधबार

सुन तस्करी सरकारकै संलग्नतामा भएकोले गृहमन्त्रीले पदमा बसिरहने आधार गुमाउनुभयो : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नतामा भएको बताउदै गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाबारे प्रश्न उठाएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष ओलीले गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा सुन तस्करी सरकारकै संलग्नतामा भएकोले गृहमन्त्री श्रेष्ठले पदमा बसिरहने आधार गुमाएको आरोप लगाएका हुन् ।

ओलीले गृहमन्त्री श्रेष्ठले बाहिर बाहिर ठूला कुरा गरेर भित्र तस्करहरुसँग साँठगाँठ गरेको आरोप लगाए । आफूहरुले उच्चस्तरीय समिति बनाएर जाऊँ भन्दा २/४ जना स्वार्थी तत्वका पछाडि समूहबन्दी बनाएर सरकार कुदिरहेको बताए ।

ओलीले एमालेले संसद अवरोध नगरेको स्पष्टीकरण दिंदै सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन आयोग गर्न किन नहुने भन्दै प्रश्नसमेत गरे । उनले तस्करीको सुनमा सरकारको संलग्नता नभए किन आयोग बनाउन तर्सिएको भन्दै प्रश्न समेत गरे ।

उनले आफ्ना कार्यकर्ता राखेर नभई बहलवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरे । उनले एसपीको नेतृत्वमा छानबिन गर्दा यसो नगर्नु भनेपछि एसपीले स्वतन्त्र रुपमा छानबिन गर्न नसक्ने बताए ।

उनले संसद अवरोध हुन नहुने र एमालेले नभई सत्तापक्षले नै संसद अवरोध गरेको बताए । उनले चुरोट भनेर ल्याउने त्यो सुन हुने गरेको भन्दै कांग्रेस सांसद सुनील शर्माले बोल्दा उनलाई नै पक्राउ गरेर मुख थुन्ने प्रयास गरिएको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !