काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने लगायत विभिन्न ७ कार्यसूची रहेको छ ।
यस्तै आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
त्यस्तै बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्नेछन् ।
साथै शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।
विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइने विषय पनि कार्यसूचीमा रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
यसअघि बुधबार बसेको प्रतिनिधिसभाको बैठक एमालेको अवरोधका कारण स्थगित भएको थियो । सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।
यस्तो छ आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची