काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को पिछलग्गु भएकोले पार्टीका कार्यकर्ता एमालेमा जान थालेको बताएका छन् ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा बर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनुपर्ने समसामयिक विषयहरु पेश गर्दै खनालले एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको आरोप लगाएका हुन् ।
नेकपा (एमाले) भित्र विद्रोह गरेर अलग हुँदाको जस्तो एकीकृत समाजवादीको संसदीय दल र शक्ति अहिले संघ र प्रदेश दुवैमा रहेको उनको टिप्पणी छ ।उनले गएको स्थानीय तह निर्वाचनको समीक्षामा पार्टी माओवादी केन्द्रको पिछलग्गु जसरी अघि बढेको आरोप पनि लगाएका छन् ।
स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले धोका दिँदा कार्यकर्ताहरू निराश भएर एमालेतिरै फर्कने चिन्ता बढेको पनि उनले उल्लेख गरेका छन् । उनले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि बताएका छन् ।
तीन क्षेत्रमा उपनिर्वाचन हुँदा समेत पार्टीले आफ्ना उमेदवारसम्म उठाउन नसकेर निरीह देखिएको उनले उल्लेख गरेका छन् । एकीकृत समाजवादी र एमालेबीच सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता देखाउन नसकिएको उनको भनाइ छ ।
पार्टीमा विद्रोह गर्दाताकाको जस्तो उमंग नरहेको बताएका छन् । उनले विद्रोह गर्दाको शक्ति पनि अहिले पार्टीमा नरहेको उल्लेख गरेका छन् । पार्टीका उत्साहित विद्यार्थीले समेत दिशाहीन महसुस गरिरहेको उनको बुझाइ छ ।
उनले सांसदको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । नेता खनालले एमसीसी सम्झौतालाई कलङ्कको संज्ञा दिएका छन् ।