८ जेष्ठ २०८१, मंगलबार

सुन तस्करीमा माओवादी नेता भएपनि छोडिन्, राम्रा कामको कसैले स्टाटस लेखेनन् : नारायणकाजी श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रकै नेता भएपनि नछोड्ने चेतावनी दिएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन् ।

सुन तस्करी प्रकरणमा माओवादी नेता कार्यकर्ताकै संलग्नता रहेको भनेर प्रचार भइरहेपछि मन्त्री श्रेष्ठले यस्तो बनाएका हुन् । श्रेष्ठको यस्तो अभिव्यक्तिले जनतामा आशा पलाएको छ भने सुन तस्करी प्रकरणमा संलग्न माओवादीका नेताको ढयाङ्ग्रो बजेको छ ।

श्रेष्ठले सरकारले गरेको कामको पार्टीकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै गुनासो गरेका छन् । उनले आफ्नो नेतृत्वमा गृह मन्त्रालयले गरेका राम्रो कामको पार्टी कार्यकर्ता कसैले सामाजिक संजालमा स्टाटस नलेखेर प्रचार नगरेकोमा दुखेसो पोखेका हुन् ।

उनले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सल्लाह गरेरै आफू अघि बढेकोमा पार्टीले स्वामित्व लिनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार विरोधी अभियानमा पार्टीकै भए पनि दोषीलाई नछोड्ने उद्घोष गरेका हुन् ।

आजको बैठकको प्रारम्भमा श्रेष्ठले सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । उनले सरकारको कामले जनतामा नयाँ आशा उत्साह ल्याएको उल्लेख गर्दै जनताको आशालाई पार्टी सङ्गठनमा रुपान्तरण गर्नुपर्ने बताए । उनले रुपान्तरणसहित पार्टीलाई पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !