१२ आश्विन २०८१, शनिबार

कोशीका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’


सर्वोच्च अदालत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिट आज पनि सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको हो ।

यसअघि दुईपटक सुनुवाइ तोकिए पनि ‘हेर्न नभ्याउने’ हुँदै स्थगित गरिएको रिट तेस्रो पटक पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो । कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार सर्वोच्चमा गएको थियो ।

कोशीका मुख्यमन्त्री थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमाले सर्वोच्च अदालत गएको हो । शुक्रबार एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

कार्कीले दायर रिटमा कोसीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोसी प्रदेश; मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोसी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दावी गरेका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीका तर्फबाट वारेस पवनकुमार निरौलाले शुक्रबार रिट दर्ता गराएका थिए ।

बिहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दाबी गरेको थियो । सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !