काठमाडौँ । अन्तत: संसद्को गतिरोध अन्त्य हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध नगर्ने भएपछि सदन खुल्ने भएको हो ।
आज आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि संसद् अवरोध हट्ने भएको हो ।
प्रधानमन्त्री प्रचण्डको अनुरोधमा आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक आजै दिउँसो ३ बजे बस्ने गरी दुई घण्टा पछि सारिएको छ । आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले दिने स्पष्टीकरण एमाले सुन्न तयार भएको हो ।
गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको थिएन । प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक बसेको थियो ।
तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको एक नेताले बताए । प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ ।
यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन । राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ः०१ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री प्रचण्डले गएको सोमबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । एमालेले प्रचण्डले दिएको उक्त अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको थियो ।