५ आश्विन २०८१, शनिबार

राष्ट्रियसभाद्वारा मुलुकी संहिता सम्बन्धी विधेयक पारित


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाको आजको पहिलो बैठकले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई सर्वसम्मतीले पारित गरेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकलाई पारित गरिनु पूर्व बैठकमा विधेयकउपर दफाबार छलफल भई छलफलमा उठेका प्रश्नहरुको कानूनमन्त्री गुरुङले जवाफ समेत दिएका थिए ।

पहिलो बैठकको शुरुमा भने राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘बिनियोजन विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरेका थिए ।

पहिलो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ को उपनियम(४) बमोजिम ‘बिनियोजन विधेयक, २०८०’ सभा समक्ष प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभाको आजै बसेको दोस्रो बैठकले भने ‘बिनियोजन विधेधयक, २०८०’लाई सर्वसम्मतीले स्वीकृत गरेको थियो । दोस्रो बैठकमा अर्थमन्त्री डा.महतले ‘बिनियोजन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री डा.महतले जवाफ समेत दिए पछि उक्त विधेयकलाई स्वीकृत गरिएको हो । बैठकको अन्त्यमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०८० माथि खचै कटौतीको सूचना दिन चाहने सांसदहरुले राष्ट्रिय सभाको विधेयक शाखामा आफ्नो सूचना दर्ता गराउन सक्ने व्यहोराको जानकारी समेत गराएका थिए ।

विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफल यही असार १८,१९,२०, २१ र २२ गते हुने भएको छ भने यही असार २४, २५ र २६ गते छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनको लागि दिन तोकिएको छ । राष्ट्रिय सभाको अर्को बैठक यी असार १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !